महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लागा षष्ठी - २१

अधिकृत वारेशनामा


अधिकृत वारेशनामा प्रमाणीकरण


नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कबाट अमेरिकाको New York, Connecticut, New Jersey,Pennsylvania, Maine, New Hampshire, Massachusetts, , Rhode Island, Vermont राज्यमा बसोबास गर्ने नेपाली नागरिकले रीतपूर्वक पेश गरेको अधिकृत वारेशनामा प्रमाणीकरण गरिन्छ। अधिकृत वारेशनामाको कागजात तयार गर्दा नेपालको मुलुकी ऐन (देवानी संहिता/मुलुकी देवानी कार्यविधि संहिता ,२०७४) मा उल्लेख भएको कानुनी प्रावधान अनुसार नेपाली कागजमा तयार गरिएको र संलग्न गर्नुपर्ने प्रमाणपत्रका प्रतिलिपिहरू नोटरी पव्लिकवाट प्रमाणित गरिएको हुनुपर्दछ। अधिकृत वारेशनामा प्रमाणीकरणका लागि वारेशनामा दिने व्यक्तिले पूर्व समय लिएर यस महावाणिज्यदूतावासमा स्वयं उपस्थित भई उक्त कागजातमा आफ्नो औंठाछाप र हस्ताक्षर महावाणिज्यदूतको उपस्थितिमा गर्नुपर्ने हुन्छ। अमेरिकाका स्थानीय नोटरी पव्लिकबाट पहिलेनै कानुन वमोजिम प्रमाणीकरण भइसकेको अधिकृत वारेशनामामा यस नियोगबाट थप प्रमाणीकरण गरिने छैन।
नियोगमा पूर्व समय लिन नियोगको इमेलः cgnnewyork@mofa.gov.np वा कार्यालय टेलिफोन +1 917 675-6783 मा सम्पर्क गरी नियोगले तोकेको समयमा आउनुपर्नेछ।
नोटः माथि उल्लेखित राज्यभन्दा अन्य राज्यमा वसोवास गर्ने यो सेवा लगायत अन्य सेवाका लागि आवेदकले नेपाली राजदूतावास, वासिङ्गटन डि.सी. मा सम्पर्क राख्नुहुन अनुरोध छ।
दूतावासको वेवसाइटः http://www.nepalembassyusa.org/power-of-attorney/ (www.nepalembassyusa.org)

वारेशनामा प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया र कागजातहरुः
अधिकृत वारेशनामा प्रमाणीकरणका लागि सम्पर्क राख्दा देहायको विषयमा ध्यान दिनु पर्नेछः

१. सहिछापको लागि महावाणिज्यदूत/कार्यवाहक महावाणिज्यदूत समक्ष अधिकृत वारेसनामा दिने व्यक्ति स्वयम् उपस्थित हुनुपर्दछ।
२. मुलकी देवानी कार्यबिधि (संहिता) ऐन, २०७४ मा उल्लेख भएको प्रावधान समेटिएको र अधिबक्ताद्वारा तयार गरिएको अधिकृत वारेसनामा नेपाली कागजमा प्रिन्ट भएको हुनुपर्दछ । मुद्धा-मामिला परिसकेको भए तारेख पत्रको कपि र मुद्धा-मामिला दायर गर्नुपर्ने भए स्पष्ट बिबरण लिखितम मा खुलाएको हुनुपर्दछ।
३. अधिकृत वारेसनामा २ प्रति सक्कल र नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कलाई सम्बोधन गरिएको १ प्रति निवेदन हुनुपर्नेछ।अधिकृत वारेशनामाको लिखितममा समेत नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कका महावाणिज्यदूत/कार्यवाहक महावाणिज्यदूत समक्ष उपस्थित भई हस्ताक्षर गरेको व्यहोरा उल्लेख हुनुपर्दछ।
४. अधिकृत वारेसनामा दिने व्यक्तिको सक्कल नागरिकता प्रमाणपत्र तथा त्यसको प्रतिलिपि र अधिकृत वारेसनामा लिने व्यक्तिको नागरिकता प्रमाणपत्रको छाँयाप्रति नेपालमा नोटरी पव्लिकबाट प्रमाणित गरिएको हुनुपर्दछ।
५. चालु आ.व. को मालपोत तिरेको सक्कल रसिद वा त्यसको नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्दछ।
६. अधिकृत वारेसनामा दिने व्यक्तिको नेपाली राहदानी र नागरिकताको कपी सक्कल र फोटोकपी संलग्न गर्नुपर्दछ।

पुनश्च: अमेरिकी नागरिकता वा राहदानी लिएका नेपाली मूलका अमेरिकनको लागि साविकमा गैरआवासीय नेपाली परिचयपत्र (NRN Card) को आधारमा उपलव्ध यो सुविधा मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ को दफा १५३ (३) बमोजिम विदेशस्थित नेपाली नियोगवाट प्रमाणीकरण गर्न नमिल्ने अध्यावधिक परिपत्र प्राप्त भएकोले सो प्रमाणीकरण कार्य वन्द गरिएको छ ।

७. घर/जग्गा खरीदविक्रि वा हक हस्तान्तरण सम्बन्धी भए घर/जग्गाधनी प्रमाणपत्रको सक्कल र नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्नेछ।
८. सवारीसाधन सम्बन्धी भए सवारी धनिपूर्जा सक्कल वा नोटरी पब्लिक द्वारा प्रमाणित फोटोकपी संलग्न गर्नुपर्दछ।
९. शेयर धितोपत्र सम्बन्धी भएमा शेयरधनि प्रमाण पत्र सक्कल वा नोटरी पब्लिक द्वारा प्रमाणित फोटोकपी संलग्न गर्नुपर्दछ।
१०. सम्बन्ध विच्छेद (Divorce) सम्बन्धी भएमा विवाहदर्ताको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्दछ ।
११. पति/पत्नी दुबैको सहमतीमा सम्बन्ध विच्छेदका लागि वारेशनामा पठाउँदा दुवैको नागरिकता वा राहदानीको प्रतिलिपि संलग्न गर्नुपर्दछ र दुवैजना महावाणिज्यदूतावासमा उपस्थित भई सहिछाप गर्नुपर्नेछ।
१२. अधिकृत वारेसनामा लिने र दिनेको तीन पुस्ते विवरण उल्लेख भएको हुनुपर्छ ।
१३. अधिकृत वारेसनमा दिने र लिने दुवैको हालसालै खिचिएको २/२ प्रति रङ्गिन फोटो ।
१४. “किनारा साक्षीका सदर” भनी उल्लेख भएमा दुवै जनाको नाम, ठेगाना तथा हस्ताक्षर, यदि “रोहवरका साक्षीकासदर” भनी उल्लेख भएमा स्थानीय साक्षीहरु महावाणिज्यदूतवासमा उपस्थित हुनुपर्दछ (कानुनी भाषा प्रयुक्त भएकोमा) ।
१५. अधिकृत वारेसनामा प्रमाणीकरण शुल्क अमेरिकी डलर ४० तोकिएको छ।सो शुल्क “Consulate General of Nepal, New York” को नाममा मनि अर्डर तयार गरी पेश गर्नुपर्दछ। नगद वा क्रेडिट/डेविट कार्डमार्फत भुक्तानी गर्न सकिनेछैन
वारेशनामा प्रमाणीकरणका लागि लाग्ने समयः नियोगमा पूर्व समय लिएर र वारेशनामा दिने व्यक्ति स्वयं उपस्थित भई सबै आवश्यक कागजात र राजश्व बुझाई र लिखितममा सहीछाप गरिसकेपछि कार्यालयमा सेवाग्राहीको चाप अनुसार सामान्यतया ३० मिनट देखी १ घण्टा लाग्नेछ ।

* नोटः एकपटक प्रमाणीकरण गरिएको वारेशनामा हराएमा, चोरी भएमा, च्यातिएर वा कुनैपनि तबरले नस्ट भएमा पुन: उही राजश्व सहित माथि उल्लेख गरिए बमोजिमको कागजातहरु पेस गरि पुनः प्रक्रिया अगाडी बढाउनुपर्दछ ।